नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल सँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा उप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको बताउनुभयो । निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्या बारे छलफल गर्न सरकार तयार रहेको बताउनुभयो । तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उहाँले निर्माण व्यवसायीहरूलाई सुझाव दिनुभयो । उपप्रधानमन्त्री पौडेल समक्ष महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताउनुभयो ।
सार्वजनिक खरिदका कानुन अनुसार निर्माण व्यवसायीहरूले पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गर्नुभयो । निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहले बताउनुभयो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षा लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकारहरू यक्षध्वज कार्की, टेकबहादुर सेठी, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, सहकोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू अशोक कुमार केसी, दानबहादुर खड्का उज्वल गौतम, बालाजु श्रेष्ठ, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायतको सहभागिता रहेको थियो ।