नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । भेटमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफु जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्या बारे अध्ययन गरी समाधान खोजिने जानकारी दिनुभयो ।
उप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले व्यसायीहरूलाई कसेर होइन उनीहरूसँग सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको प्रष्ट पार्नुभयो । उहाँले जनचाहना अनुसार गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीहरूलाई सुझाव दिनुभयो । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने समक्ष महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताउनुभयो ।
सार्वजनिक खरिदका कानुन अनुसार निर्माण व्यवसायीहरूले पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गर्नुभयो । निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहले बताउनुभयो । उपप्रधानमन्त्री लामिछानेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षा लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार टेकबहादुर सेठी, वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी), उपाध्यक्ष टोपबहादुर रायमाझी, उपमहासचिव (नीतिगत) शिवहरि घिमिरे, सहकोषाध्यक्ष सन्तोष शाह, कार्य समिति सदस्यहरू अशोक कुमार केसी, उज्वल गौतम, बालाजु श्रेष्ठ, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायतको सहभागिता रहेको थियो ।