काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) को प्रकोपका कारण नेपाली निर्माण व्यवसाय क्षेत्रमा परेको र आगामी दिनमा पर्ने असरका विषयमा नेपाली कांग्रेस पार्टीको कोरोना अनुगमन समिति र नेपाल निर्माण व्यवसायी महासंघबीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
अनुगमन समिति संयोजक तथा नेपाली कांगे्रसका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा भएको कार्यक्रममा निर्माण व्यवसायीहरुले कोरोनाको कारण निर्माण उद्योगमा पनि ठूलो असर परेको जानकारी गराएका थिए । महासंघका अध्यक्ष रवि सिंहले अब मंसिर अगाडि निर्माणका कार्यहरु सहज रुपमा संचालन गर्न नसकिने बताउनुभयो ।
लकडाउनका कारण निर्माण सामाग्रीको अभाव तथा निर्माण मजदुरहरु घर गएको र हाल खेतीपातीको समय रहेको हुँदा सहज रुपमा काम गर्न नसकिने अध्यक्ष सिंहको भनाइ थियो । नेपाली कांगे्रस पार्टीले हालको निर्माण क्षेत्रको अवस्था बुभ्mन व्यवसायीहरुसँग छलफल गरिएको र छलफल पश्चात् प्रतिवेदन तयार पारी सरकारलाई बुझाउने र सोही बमोजिम व्यवसायीहरुलाई राहत दिन दवाब दिने कोरोना अनुगमन समिति संयोजक महतले जानकारी गराउनुभयो ।
कार्यक्रममा महासंघको तर्फबाट सल्लाहकार तथा पूर्व अध्यक्ष रमेश शर्मा, सल्लाहकार विरेन्द्रराज पाण्डे, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उपाध्यक्ष आङदोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, कानुनी सल्लाहकार टंकप्रसाद दुलाल, कार्यालय प्रमुख पे्रम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।