सबै परियोजनाहरूमा म्याद थपको विकल्प नरहेको ठहर

  • Home
  • News & Events
  • सबै परियोजनाहरूमा म्याद थपको विकल्प नरहेको ठहर

बैशाख २२, काठमाडौं । कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै राजधानी सहित विभिन्न जिल्लामा जारी निषेधाज्ञाका कारण सरकारले तोकेको मापदण्डमा रही निर्माण कार्य संचालन गर्न अत्यन्त कठिन भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार विशुद्ध रुपमा निर्माण सामग्री ढुवानी लगायतका कार्यका लागि प्रयोग भएका गाडीहरूलाई ठाउँ ठाउँमा रोक्न लगाइएको छ भने सहज रुपमा पास समेत उपलब्ध गराइएको छैन । त्यस्तै निर्माण सामाग्रीका केही उद्योगहरू खुलेता पनि तिनका डिलर, वितरक पसलहरू बन्द रहेका कारणले निर्माण सामग्रीको अभाव र ढुवानीमा देखिएको समस्या विकराल बन्दै गइरहेको महासंघले जनाएको छ ।

निषेधाज्ञाकै फाइदा उठाउँदै निर्माण सामाग्रीहरूमा गरिएको चर्को मूल्यवृद्धितर्फ पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन दाहालद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएको छ । वैशाख २१ गते सीसीएमसीले जारी गरेको सूचनामा विकास निर्माण सम्बन्धमा सम्बन्धित् आयोजनाहरूले नै आवासीय कामदार राखी अनिवार्य रुपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्ने गराउने उल्लेख भएता पनि श्रमीकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको महासंघको भनाइ छ । सडक, सिचाईका कार्यहरु तोकिएकै सिमित स्थानमा नहुने भएकोले संक्रमण सर्ने त्रास रहने र कतिपय स्थानमा सङ्क्रमण फैलने डरले विशेष गरी शहरी क्षेत्रका र साना तथा मझौला निर्माण स्थलमा जनघनत्व हुने भएकोले निर्माण कार्य गर्न कठिन हुने देखिएको महासंघले जनाएको छ । विहान काममा जाने तथा बेलुका निवास स्थलमा जाने गरेका कैयन कामदारहरु यस्ता प्रकृतिका हुने गरेका, निर्माण सामग्री ढुवानी लोड अनलोड इत्यादि गर्दा एक अर्का सँग प्रत्यक्ष सम्पर्क हुृने हुँदा र निर्माणस्थलमा खटिएका कोही कसैको संक्रमणले गर्दा मृत्यु भएमा वा संक्रमण भएकाको उपचारमा लाग्ने खर्चका कारण निर्माण व्यवसाय क्षेत्रले क्षति व्यहोर्नु पर्ने स्थिति आएको महासंघको भनाइ छ । त्यसैले कतिपय स्थानमा संक्रमण फैलिने डरका कारण स्थानीयले नै काममा अवरोध सिर्जना गरेको जानकारी महासंघलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

यस विषम परिस्थितिमा अब म्याद नथप्ने नियतले काम गर्नु भने पनि व्यवहारिक रुपमा त्यो सम्भव नदेखिएकाले सरकारले नगरी नहुने केही निर्माण कार्यहरू मात्र संचालन गरी अन्य सम्पूर्ण कार्यहरूको लागि शुन्य समय (कन्स्ट्रक्शन होलिडे) को रुपमा गणना हुने गरी बन्द गरिनु उपयुक्त हुने महासंघको सुझाव रहेको र सबै परियोजनाहरूमा म्याद थपको कुनै विकल्प नभएको महासंघको ठहर छ । निर्माण व्यवसायीहरूको अरबौं अरब भुक्तानी रोकिएको तथा सङ्क्रमण तीव्र गतिमा फैलिरहेको अहिलेको अत्यन्त जटिल अवस्थालाई ख्याल गरी कर बुझाउने र बैङ्क ऋण किस्ता तिर्नका लागि समय थप गरिनु न्यायोचित हुने हुँदा सोही बमोजिमको व्यवस्था मिलाइदिन महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै यस विषम परिस्थितिमा पनि हाल पुर्वाधार विकासका निर्माण कार्य गराइराखेका केही सार्वजनिक निकायहरूले म्याद थप हुन नसकेका निर्माण कार्यहरूको बैंक ग्यारेण्टीको दावी भुक्तानीको लागि सम्बन्धित बैंकहरूमा आवश्यक कारवाही अगाडि बढाएको प्रति आपत्ति जनाउँदै महासंघले उक्त कार्य निषेधाज्ञा अवधिभरका लागि स्थगित गर्न जोडादार माग गरेको छ । निषेधाज्ञाकाबीच निर्माण कार्य सञ्चालन सम्बन्धमा आगामी दिनमा पासको उपलब्धता, निर्माण सामग्रीको ढुवानी, कामदारहरूको आवतजावत लगायतका कार्य वैज्ञानिक तथा व्यवहारिक ढंगले सूचना जारी गर्न र सोको अक्षरस कार्यान्यवनका लागि महासंघले सीसीएमसी लगायतका निकाय समक्ष आग्रह गरेको छ । साथै देशभरीका तमाम निर्माण व्यवसायीहरूलाई राज्यले तोकेका सबै नीति नियमको पालना गरी संक्रमण नियन्त्रणमा आ–आफ्नो ठाउँबाट प्रभावकारी भूमिका निर्वाह गर्न महासंघले आग्रह गरेको छ ।