नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीलाई निर्माण व्यवसायका समस्याका विषयमा जानकारी गराएको छ ।
बुधवार महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभिन्न निकायहरुले बोलपत्र प्रकाशित गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले यस अघि जारी गरेको परिपत्र पालना नगरेकोतर्फ सचिव रेग्मीको ध्यानाकर्षण गराएको थियो ।
सम्पूर्ण कार्यालयलाई Standard Bidding Document (SBD) अनुसार बोलपत्र प्रकाशित गर्न निर्देशन जारी भएतापनि सो नियमको वेवास्ता गरी सिमित व्यवसायीहरलाई मात्र लाभ हुने गरी बोलपत्र प्रकाशित भएको जानकारी महासंघले सचिव रेग्मीलाई गराएको छ ।
महासंघका अध्यक्ष सिंहले यस्तो प्रवृत्तिका कारण अधिकांश व्यवसायीहरु निर्माण कार्यमा भाग लिनबाट वञ्चित हुने गरेको भन्दै व्यवसायी महासंघमा गुनासो आएको बताए । महासंघले सार्वजनिक खरिद नियमावली र त्यस कार्यालयले जारी गरेको Standard Bidding Document (SBD) बमोजिम बोलपत्र संशोधन गरी सरलीकृत ढंगले बोलपत्रको योग्यता परिवर्तनका लागि सम्बन्धीत निकायमा निर्देशन गरिदिन समेतसचिव रेग्मी समक्ष अनुरोध गरेको छ ।
जवाफमा सचिव रेग्मीले निर्माण व्यवसायीका समस्या समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले जहिले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै सचिव रेग्मीले सम्बन्धित निकायका अधिकारीहरुलाई छलफलमा बोलाई आवश्यक निर्देशन समेत दिने बताए । भेटमा महासंघका उपाध्यक्षहरु आङ दोर्जी लामा ए.डी, सुरेन्द्र प्रसाद सिंह, महासचिव रोशन दाहाल, उप–महासचिव (नीतिगत) टंक प्रसाद चौलागाईं, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, महासंघका जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।